नियम ९१
उपचार खर्च
(१) कर्मचारीले सेवा अवधिभरमा अधिकृत स्तरको कर्मचारी भए बाह्र
महिना बराबरको र सहायक स्तरको कर्मचारी भए एक्काइस महिना बराबरको खाइपाई
आएको तलब रकमसम्म उपचार खर्च वापत पाउनेछ ।
(२) कुनै कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम (१)
बमोजिम पाउने रकममा नवढ्ने गरी देहाय बमोजिम भएको उपचार खर्च
नेपाल सरकारले दिनेछ ः-
(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा
लागेको शुल्क तथा जाँच गरी लेखिएको प्रेस्क्रिप्शन अनुसार
औषधि किनेको खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल
बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको
उपचारमा विभागीय प्रमुख बाहेक अन्य कर्मचारीको हकमा
विभागीय प्रमुखले र विभागीय प्रमुखको हकमा मन्त्रालयको
सचिवले सिफारिस गरेको खर्च,
स्पष्टीकरण :- “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा
रहेका वा प्रचलित कानून बमोजिम चिकित्सकको रूपमा दर्ता
भएका डाक्टर, अधिकृत कविराज, एकीकृत चिकित्सा
अधिकृतलाई जनाउँछ ।
(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल
अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(ङ) आफ्नो घर वा डेरा छाडि अर्को जिल्ला वा विदेशमा गई औषधि
उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको
बिरामीको र कुरुवा चाहिने अवस्था भए एकजना कुरुवासम्मको
यातायात खर्चको पुरै रकम र खाना खर्च बापत सम्बन्धित
कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ताको
पचहत्तर प्रतिशत रकम ।
(३) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेश्कीको रूपमा
लिन चाहेमा सोको कारण मुनासिब देखिए यस नियमको अधीनमा रही पछि हिसाब
बुझाउने गरी पेश्की दिन सकिने छ । त्यसरी पेश्की लिएको रकम पछि हिसाब गर्दा
उपचार बापत पाउने रकम भन्दा बढी हुन आएमा बढी भए जति रकम सम्बन्धित
कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ । त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तानी
नहुँदै सम्बन्धित कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कट्टी गर्न बाँकी
रकम मिन्हा हुनेछ ।
(४) झुठ्ठा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा
प्राप्त गर्ने कर्मचारी लगायत त्यस्तो झुठ्ठा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक
(कर्मचारी भएमा) उपर विभागीय कारबाही हुन सक्नेछ ।
(५) कुनै अस्थायी कर्मचारी बिरामी भएमा औषधि उपचारको लागि निकासा
दिंदा बीस वर्षको अवधिलाई सेवाको पूरा अवधि मानी त्यसको अनुपातमा बिरामी हुने
अस्थायी कर्मचारीले गरेको सेवा अवधिले हिसाब गरी यस नियम बमोजिम उपचार खर्च
दिइनेछ ।
तर अस्थायी कर्मचारी सेवाबाट अलग हुँदा भने यस नियम बमोजिम उपचार
खर्च पाउने छैन ।
(६) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त
गरिएको अवस्थामा बाहेक अरू जुनसुकै व्यहोराबाट कर्मचारी सेवाबाट अलग हुँदा यस
नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार
खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउनेछ ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अलग भएको कर्मचारीले उपचार खर्च
बापत लिन बाँकी रकममा बीस वर्ष, पच्चीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएको
कर्मचारीले क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन
पाउनेछ ।
(७) दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधि उपचारको लागि
खर्च दिंदा यस नियममा तोकिएको रकमलाई दश वर्ष सेवा गरे वापत पाउने रकम मानी
दामासाहीले हुन आउने रकम मात्र दिइनेछ ।
(८) यस नियम बमोजिम उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर
हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै
माग गर्नु पर्नेछ । बिरामी बिदा बाँकी नभएमा मात्र अन्य बिदा माग गर्न सक्नेछ ।
(९) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार
गराउनु पर्दा बाहेक कर्मचारीलाई एक वर्षमा निजले खाईपाई आएको डेढ महिनाको
तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ ।
(१०) यस नियम बमोजिम कर्मचारीले पाएको उपचार खर्चको अभिलेख खर्च
लेख्ने कार्यालयले राखी त्यस्तो विवरण सम्बन्धित विभाग र निजामती किताबखानामा
अभिलेख राख्न पठाउनु पर्नेछ ।
(११) साधन बिहीन दुर्गम जिल्लामा कार्यरत कर्मचारीलाई लागेको रोग स्थानीय
स्वास्थ्य संस्थाबाट उपचार हुन नसक्ने भई निजको ज्यानलाई नै जोखिम हुने अवस्था
परेमा मन्त्रालयको सचिवको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट
सबैभन्दा नजिकको नेपाल …….. भित्रको अरू कुनै सुविधायुक्त स्वास्थ्य संस्थामा छिटो
साधनद्वारा लैजाँदा र त्यहाँबाट फर्कदा लाग्ने खर्च नेपाल सरकारले व्यहोर्नेछ ।